panchayat-cover
Shree Panchayat Secondary School

विद्यालयको पृष्ठभूमि

मोरङ जिल्ला पथरीशनिश्चरे नगरपालिका वडा न १ मा अवस्थित श्री पञ्चायत माध्यमिक विद्यालय २०३६ सालमा स्थापना भएको हो । पूर्वपश्चिम राजमार्गबाट करिब १ किमी दक्षिणतर्फ बुद्धचोकमा रहेको यस विद्यालयमा २०४० सालमा प्राथमिक तह, २०४५ सालमा निम्नमाध्यमिक तह, २०५२ सालमा माध्यमिक तह र २०५४ सालमा तत्कालीन उच्च माध्यमिक तहको अनुमति प्राप्त गरी हाल बालकक्षादेखि कक्षा १२ सम्मका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । हाल यस विद्यालयमा बालकक्षादेखि कक्षा १२ सम्ममा ३१९७ विद्यार्थी अध्ययनरत छन् ।

यस विद्यालयमा साधारण र प्राविधिक दुवै धारका कक्षा सञ्चालन भइरहेका छन् । प्राविधिक धारअन्तर्गत कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङको पठनपाठन भइरहेको छ भने कक्षा ११ र १२ मा विभिन्न विषय समूहमा पढाइ भइरहेको छ । कक्षा ११ र १२ मा विज्ञान, कानुन, ललितकला, व्यवस्थापन, मानविकी र शिक्षा मूल समूहका विभिन्न विषय पठनपाठन भइरहेको छ । यी सबै विषयसमूहमा सूचना प्रविधिको अधिकतम् प्रयोग गरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नमा विद्यालय क्रियाशील छ ।

smchariman

अध्यक्ष

ऐतिहासिक श्री पञ्चायत माविको आठौँ विद्यालय व्यवस्थापन समिति अध्यक्षको रूपमा आफूलाई उभ्याइरहँदा गर्वानुभूति गरेको छु । अध्यक्षको हैसियतमा यो विद्यालयको परिकल्पना र निर्माणमा अगुवाइ गर्नुहुने प्रथम विव्यस अध्यक्ष तेजबहादुर थापा र प्रधानाध्यापक प्रल्हाद भट्टराईसहित अहिलेसम्म नेतृत्व लिनुहुने अग्रजहरूप्रति विद्यालयको ४५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा हार्दिक सम्मान गर्न चाहन्छु ।

निर्माणकालदेखि अहिले यहाँसम्म आइपुग्दा विद्यालय अपेक्षित उन्नति–प्रगतिका साथ स्वर्ण जयन्तीतर्फ उन्मुख भएको छ । जाडो र गर्मी छल्न नसक्ने सेउरा टहराबाट आरम्भ भएको विद्यालय जीवनले भौतिक पूर्वाधारका क्षेत्रमा मात्र फड्को मारेको छैन, सिकाइका रचनात्मक र जीवनोपयोगी कार्ययोजना कार्यान्वयनका कारण आममानिसको रोजाइ र खोजाइको शिक्षण केन्द्रको रूपमा विकास गरेको छ ।

१७ जना विद्यार्थीहरू लिएर पठनपाठन आरम्भ गरेको विद्यालयले अहिलेसम्म आइपुग्दा १७ हजारभन्दा बढी दक्ष जनशक्ति निर्माण गरेर समुन्नत समाज निर्माणमा प्रत्यक्ष योगदान गरेको छ, समृद्ध राष्ट्र निर्माणको अभियानअन्तर्गत यसको ऐनामा हेर्दा श्री पञ्चायत मावि शैक्षिक धरोहरको एउटा गर्विलो मेरुदण्ड बनेको छ ।

पठनपाठन विधि र कक्षागत उपलब्धिलाई सामान्य अर्थमा लिनुहुँदैन । अझ बजारमा देखिएका केही जटिलता र चुनौतीबारे गहिरिएर घोत्लन जरुरी भएको छ । गुणस्तरीय शिक्षाको विषय उब्जने र उठ्ने गरेको छ । बजारमा गुन्जने शिक्षाको गुणस्तर भनेको के हो ? हाम्रो सुझबुझपूर्ण सक्रियता र उत्पादित जनशक्तिमार्फत यसको जवाफ दिनुपर्ने छ ।

बजार सुहाउँदो योग्यता निर्माण, श्रमबजारले मागेजस्तो दक्ष जनशक्ति निर्माण, औपचारिक अनौपचारिक कुनै पनि क्षेत्रमा हुने प्रतिस्पर्धामा हमेसा अब्बल ठहरिन सक्ने विद्यार्थी निर्माण, खस्कँदो आचरण र व्यवहारविरुद्ध संस्कारसहितको शिक्षा व्यवस्थापन, सामाजिक उत्तरदायित्व वहन गर्ने जागरूक पङ्क्ति निर्माणतर्फ अब हाम्रो ध्यान जान जरुरी छ ।

शैक्षिक गतिविधिका अतिरिक्त हामीले गर्ने गराउने रचनात्मक गतिविधिमा मनोरञ्जनको पाटोलाई योजनामा जोड्नुपर्छ । यसले मनोरञ्जन मात्र होइन, परस्पर मायाप्रेम, सद्भाव र शुभेच्छा बढाउँछ । सहयोगी मन साटासाटको अवसर सिर्जना गर्छ । दुःखसुख आदानप्रदानको माहौल बन्दै जान्छ ।

श्री पञ्चायत मावि पछिल्लो विकसित कालखण्डमा नमुना मावि हुनुको नाताले विद्यार्थीको रुचि र आजको बजारले मागेको आवश्यकता पूर्तिका लागि सिकाइको आन्तरिक तालिका निर्माण गर्नुपर्छ । हामीसँग भएको पर्याप्त विषयगत जनशक्ति नै यहाँको स्थायी पुँंजी हो । यसप्रति अपनत्वबोध गर्दै अधिकतम सफलता आर्जन गर्न र क्रमशः उचाइ भर्न हामी सङ्कल्पकृत हुनुपर्छ ।

सामाजिक पछ्यौटेपन र विभेदको असर यदाकदा विद्यालयको जीवनमा पनि देखिन्छ । यसलाई नामेट गर्न अग्रसरता लिइरहँदा न्यूनीकरणतर्फ पाइला चाल्नुपर्छ । विद्यालय र विद्यालय परिसर हाम्रो घर र घरको आँगन हो । यसको सरसफाइ हामी स्वयम्ले गर्ने हो भन्ने सन्देश व्यवहारतः दिन जरुरी छ । विद्यालय शिक्षा शिक्षणको साझा थलो मात्र नभई समाजलाई संस्कारयुक्त जीवनशैली दिने कारखाना पनि हो । सभ्यआचरण र नैतिक शिक्षा नियमितरूपमा हुने सिकाइका अलावा प्रबन्ध मिलाउन जरुरी भएको छ ।

गुणस्तरसहितको दक्ष जनशक्ति तयार गर्ने भनेको मूलतः गुरुजनले हो । पुच्छर निमोठेर मात्र होइन, आमरूपमा सबै गुरुजनको साह्रोगाह्रो, सेवासुविधा र हौसला वृद्धिविकासमा हाम्रो यथोचित् ध्यान जरुरी छ । सङ्ख्यामा होइन, गुणमा ध्यान दिन सकियो र यसले परिणाम दियो भने आफ्ना अग्रजको लगानीको प्रतिफलस्वरूप बनेका सामुदायिक विद्यालयतर्फको आकर्षणता ह्वात्तै बढ्ने छ । यसको अगुवाइ हाम्रो विद्यालय श्री पञ्चायत माविले गर्दै गरेको कुरा म अध्यक्षको तर्फबाट सार्वजनिक गर्दछु ।

आजको हाम्रो विद्यार्थी भोलिको जिम्मेवार नागरिक हो, दक्ष जनशक्ति हो र राज्यलाई चाहिने ब्युरोक्रेसीको समुच्चय शक्ति हो । यिनको योग्यता–क्षमताको विकास, प्रतिभाको पहिचान र प्रस्फुटनमा हाम्रो ध्यान जानुपर्छ । विद्यालयको जीवनसँग जोडिएको पुस्ता, विद्यालयबाट उत्पादित जनशक्ति र नवोदित प्रतिभाबारे अभिलेखीकरणतर्फ हाम्रो ध्यान जान अनिवार्य भइसकेको हुँदा विव्यस यसतर्फ अझ क्रियाशील छ । यसो गर्नु भनेको समाज निर्माणमा श्रेष्ठता हासिल गर्नु हो । राष्ट्रको लागि चाहिने जनशक्ति निर्माणमा अग्रसरता लिनु हो । सङ्कल्प गरौँ– सफलता अवश्यंभावी छ ।

smchariman

प्रधानाध्यापक

शिक्षण पेसाको उत्तरार्धतिर आइपुगेको छु । झन्डै तीन दशक लामो शिक्षणकाल र विगत दशकयता प्रशासनको प्रमुख भूमिकामा रहँदा प्राप्त गरेको अनुभूतिहरू आफैंमा अक्षरज्ञान शिलालेखमा कुँदिएको जस्तो लाग्छ ।

यसबिचमा पीडा बनेर रहेको क्षण अर्थात् कोरोना महामारीको काल भौतिक उपस्थितिमाथिको क्षतिमात्र थिएन, शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनको अभियानमा आइलागेको अवरोध थियो । यसको प्रत्यक्ष असरबाट यो विद्यालय पनि अछुतो हुन सकेन । तर, पनि विद्यालयमा सम्पादित शैक्षिक गतिविधिहरू, गीत–सङ्गीतका कार्यक्रमहरू, खेलकुदका कार्यक्रमहरू, अतिरिक्त क्रियाकलापहरू र विज्ञान, कानुन, ललितकलासहित प्राविधिक क्षेत्रका दर्जनौँ उपलब्धिको केन्द्र बनाउने गरी निरन्तरको भगीरथ प्रयत्नबाट विश्राम लिएनौँ । अथक मेहेनत र परिश्रमको प्रतिफलस्वरूप आज श्री पञ्चायत माध्यमिक विद्यालय कोशी प्रदेशमा मात्र नभई देशमै भिन्न पहिचान कायम गर्न सफल र अनुकरणीय संस्था बनाउँदै छौँ । यी हाम्रा उपलब्धि र प्रगतिहरू अभिभावकसहित सरोकारवाला सबैमाझ पस्कन पाउँदा गौरवानुभूति भएको छ ।

विद्यालयको यो सफलतामा शिक्षक, अभिभावक र विद्यार्थीले पनि आफ्नो जीवन पाएको यथार्थलाई हामीले भुल्नुहुँदैन, बरु सार्वजनिक कार्यक्रममार्फत सदैव स्मरण गर्नुपर्छ ।

खुशी लाग्छ– कमजोर अवस्थाबाट फड्को मार्दै यहाँसम्म आइपुग्दा आज हामी शैक्षिक गुणस्तर मापनको मात्र कुरा गरिरहेका छैनौँ, अपितु यसको स्रोतकेन्द्र बन्ने सङ्कल्प समेत गरिरहेका छौँ । गुणस्तर मापनको प्रमुख कसी नै अङ्ग्रेजी माध्यम मात्र हो भन्ने सङ्कीर्णतावादी चिन्तनले हामीलाई आफ्नै मौलिकतामा आधारित शिक्षण सिकाइबाट बिरानो बनाउँदै लगेको तितो यथार्थ हाम्रो सामु छ । यही तितो यथार्थ चिर्न हामी निरन्तर क्रियाशील छौँ ।

मेरो शिक्षण पेसा आरम्भकालका विद्यार्थी आज अपवादबाहेक अधिकांश अभिभावक बन्नुभएको छ । अर्थात् हामी अब क्रमशः हजुरबुबा हजुरआमा हुन लागेका छौँ । यसको अर्थ– एउटा साक्षर, सचेत र जागरूक पुस्ता आजको अभिभावक बन्नुभएको छ । यो पुस्ताले तयार गरेको आफ्नो उत्तराधिकारी शक्ति र हाम्रो विद्यार्थी रूपको मानवशक्ति आफैंमा सचेत, तीक्ष्ण र बहुप्रतिभाशाली छ । यसकारण पनि हिजोको सिकाइ, प्रशिक्षण र शिक्षण विधि आज जस्ताकोतस्तै हुबहु अनुसरण हुन सक्दैन । यो कुशल व्यवस्थापन अभाव भए चुनौती र व्यवस्थापन गर्न सके अवसर दुवै हो भन्ने मेरो बुझाइ सबैमाझ राख्न चाहन्छु ।

यही परिस्थितिलाई मध्यनजर गर्दै पछिल्लो दशकमा हामीले देशको राजधानीबाहिर कक्षा ११ र १२ मा ललितकला र कानुन विषय समूहको पठनपाठन अगाडि बढाएका छौँ भने प्राविधिकधारतर्फ प्रयोगमा आधारित शैक्षिक जनशक्ति उत्पादनमा अग्रसरता लिएका छौँ । प्रदेशभरिकै एकमात्र बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आवासीय पठनपाठनको प्रबन्ध मिलाएसँगै श्री पञ्चायत माविप्रति आमरूपमा मानिसको बुझाइ, खोजाइ र रोजाइको आयाम बढेको छ । यो मोफसलमा बसोबासरत सबैका लागि सुन्दर र सुखद् पक्ष मान्नुपर्दछ ।

मानिसको आधारभूत ज्ञान, सूक्ष्म चेत र चेतना विकाससँगै परिस्थितिमा आएको फेरबदल निकै आशलाग्दो छ । हिजो मोटो अक्षर पढ्न, अक्षरज्ञान हासिल गर्न र विषयगत ज्ञानआर्जनका लागि पाठशाला बनाउने र धाउने प्रचलन थियो भने आज जीविकोपार्जनमा आधारित शिक्षण विधि, पाठ्यक्रम विकास र पाठ्यपुस्तकको कुरा सर्वत्र छाएको छ । यसमा पनि स्थानीय सरकारको रूपमा क्रियाशील पालिकाले पालिकाको आफ्नो भौतिक वस्तुस्थिति, सामाजिक–सांस्कृतिक सहचार्यमा आधारित मानवसंसाधनबारे पठनपाठन गर्ने गराउने निधो गरेसँगै हामी यससम्बन्धी पाठ्यक्रम विकास र पाठ्यपुस्तकको छपाइ पर्खाइमा छौँ । मानिसलाई नैतिक रूपमा ज्ञानवान् बनाउनु एकातिरको आवश्यकता बोधको विषय गम्भीर छ भने अर्कोतिर हाम्रो हकमा अब श्री पञ्चायत माविलाई Career Based Education & Educational Center अर्थात् ‘जीवनमा आधारित शिक्षा र सिकाइकेन्द्र’को रूपमा कसरी विकास गर्ने ? उपायसहित सङ्कल्प गर्न जरुरी छ । यसका निमित्त हामी सबैले सङ्कल्प गर्नुपर्छ र योजनाबद्ध अग्रसरता लिनुपर्छ । सफलता सुनिश्चित छ । ४५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा शुभकामनासहित !